‘आर्थिक वृद्धिदर ६ प्रतिशत’

  • प्रकाशित मितिः माघ, 4, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ ।

आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । राजनीतिक स्थायित्व, विद्युत् आपूर्तिमा सुधार एवं भूकम्पको पुनर्निर्माणमा देखिएको प्रभावकारी कार्यान्वयन हुँदाहँुदै पनि कमजोर कृषि उत्पादन, गिर्दो रेमिट्यान्स दर, प्रमुख व्यापार हिस्सेदार भारतको घट्दो वृद्धिदर, सरकारको विकास खर्च पर्याप्त हुन नसकेको लगायतका कारणले प्रक्षेपण गरे अनुसार आर्थिक वृद्धि नहुने सो मिसनले जनाएको हो ।

आईएमएफअन्तर्गत वित्तीय मामिला विभागका उपनिर्देशक लाउरा जरामिल्लोको नेतृत्वमा नेपाल आएको पाँच सदस्यीय टोलीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिइएको हो ।

नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न आएको आईएमएफको आर्टिकल मिसन फोरको टोलीले यसअघि आईएमएफकै ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणलाई सच्याउँँदै नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

टोलीले पुस २० गते अर्थमन्त्री खतिवडा र गभर्नर नेपालसँग छुट्टाछुट्टै भेट गरेको थियो भने निजी क्षेत्र र अन्य सरोकारवाला निकायसँगको छलफलपछि प्रक्षेपण गरे अनुसार आर्थिक वृद्धि नहुने निष्कर्ष निकालेको पत्रकार सम्मेलनमा बताइएको छ । टोलीले राष्ट्र बैङ्कले लिएका अधिकांश नीतिको प्रशंसा गर्दै सुधारका लागि सुझाव पनि दिएको छ ।

हरेक वर्ष स्थलगत अध्ययन गरी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको आईएमएफको टोलीले तयार पारेको रिपोर्ट आईएमएफको सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक हुनेछ । सार्वजनिक हुने रिपोर्टमा समस्या र कमी कमजोरी औँल्याउँदै सुधारका लागि सुझावका साथै दिइएका सुझाव कार्यान्वयन गर्न दबाब पनि दिने गर्दै आएको छ ।

पछिल्ला दिनमा नेपाल राष्ट्र बैङ्कले ऋण दिँदा कर चुक्ता प्रमाणपत्र खोज्ने निर्णय सकारात्मक भएको पनि आईएमएफको टोलीले जनाएको छ ।

आजको गोरखापत्र दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved